प्रेसविज्ञप्ति

प्रे विज्ञप्ति

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले आज एक विशेष समारोहमा हेमबहादुर मल्ल सम्मान, २०७९ डा. भेष बहादुर थापालाई प्रदान गर्नु भयो । सो सम्मान अर्पण गर्नुहुँदै सम्नानीय राष्ट्रपति पौडलले भन्नु भयो, “यसरी समाज र राष्ट्रलाई योगदान पु¥याउनुहुने व्यक्तिलाई राष्ट्र र सामाजिक संस्थाले सम्मानित गर्दा त्यसले भावी पुस्तालाई पनि प्रेरणा दिने मैले आशा लिएको छु । समारोहको प्रमुख अतिथिको रूपपमा सम्बोधन गर्नु हुँदै उहाँले भन्नु भयो:

“संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र सम्वृद्धिको आकांक्षा पूरा गर्ने सम्वैधानिक दायित्वलाई हामीले हरक्षण आत्मसात् गर्नुपर्छ । यसका लागि सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सुविधामा जनताको समान र सहज पहूँच सुनिश्चित गरी सुशासन प्रत्याभूति गर्ने राज्यका दायित्व र जिम्मेवारी बहनमा नेपाल जनप्रशासन संघमा आबद्ध सबै पेशाविद्हरूले मन, वचन र कर्मले सघाउनु हुनेछ भन्ने अपेक्षा गरेको छु ।”

“मुलुकमा विधिको शासन सञ्चालन गर्न, नागरिकहरूलाई दिइने सेवामा दक्षता ल्याउन, सरकारी कामकारवाहीमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वको बढावा गरी सुशासन कायम गर्न प्राज्ञिक तथा पेशागत संस्थाहरूको ठूलो भूमिका रहेको हुन्छ ।

यी सबै कार्यमा तीनै तहका सरकारलाई सघाउ पु¥याउन तथा घच्घच्याउन नेपाल जन–प्रशासन संघ सँधै क्रियाशील रहोस् भन्ने मेरो शुभकामना छ ।”

सम्मान अर्पण समारोहका विशेष अतिथि सङघीय मामिला तथा समान्य प्रशासन मन्त्री माननीय राजकुमार गुप्ताले मुलुकमा सुशासन र सङ्घिय प्रणालीलाई दिगो बनाउन पेशागत संघस्थाहरूले तीनै तहका सराकरलाई  नीति निर्माण र सेवा प्रवाहमा चुस्तता ल्याउने उपयोगी सल्लाह र सुझाव दिनुहुने सरकारको अपेक्षा रहेको बताउनु भयो ।  उहांले भन्नु भयो:

“विधिको शासन,सामजिक न्याय र सुशासनप्रति नेपाल सरकार प्रतिबद्ध रहेको छ । संविधानअनुसार मुलुकको सार्वजनिक प्रशासन  तटस्थ, जवाफदेही, दक्ष, पारदर्शी र सामवेशी हुनुपर्छ । सङ्घीय प्रणालीमा तीनै तहका सरकारका आ-आपना जिम्मेवारी संविधान अनुसार तोकिएका छन् । तीनै तहका सरकारको सेवा प्रवाह र काम कारवाहीलाई अझ बढी प्रभावकारी, जनमुखी, सेवाग्राहीमैत्री तथा प्रविधिमैत्री बनाउने कार्य  र संसदमा विचाराधिन रहेको सङ्घीय निजामती सेवा विधेयकलाई जतिसक्दो छिटो पारित गर्ने कुरा सरकारको प्राथमिकतामा  रहेको छ । 

सम्मान अर्पण समारोहलाई सम्बोधन गर्नु हुँदै सम्मानित व्यक्ति डा. भेषबहादुर थापाले भन्नु भयो, “नेपालले हासिल गरेको उन्नति र प्रतिष्ठालाई संरक्षण र प्रवर्द्धन गर्ने अभियानमा एउटा सहयोगीको रुपमा  प्रयत्न गरेको हुँ । आज तिनै लामो संघर्ष र यात्राले जुन ठाउँमा पुगेको छु त्यसको पारितोषिकको रुपमा देशवासीहरुको र खास गरेर विश्वसँग लुकेर जोगिएको पहिचानबाट सम्मानीत विश्वव्यापीरुपमा सक्रिय भूमिका खेल्ने आधारको सृजना गरेको छ । त्यसले नेपालको अस्तित्वलाई समान उचाईमा पुर्याउन हाम्रो पुस्ताले गरेको योगदानमा सहभागीको रुपमा प्रस्तुत गर्ने आधार भएको ठान्दछु ।”

पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै ती क्षेत्रको संस्थागत विकास र अन्तर्राष्ट्रियस्तरमा नेपालको राष्ट्रिय हित र श्रीवृद्धिको लागि पुर्याउनु भएको बहुमुल्य योगदानको कदरस्वरूप हेमबहादुर मल्ल सम्मान २०७९ डा. भेषबहादुर थापालाई अर्पण गरिएको हो  ।

उहाँले अर्थशास्त्र विषयमा भारतको कोलकत्ता विश्व विद्यालयबाट स्नातक तथा संयुक्त राज्य अमेरिकाको क्लेरमोन्ट विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको हो । उहाँले कार्य प्रारम्भ राष्ट्रिय योजना आयोगको सदस्य सचिव, अर्थ योजना मन्त्रालयमा स्थायी सचिव, नेपाल राष्ट्र बैंकको गभर्नर र अर्थ मन्त्रीको हैंसियतमा मुलुकको अर्थ व्यवस्थाको जग बसाल्नु भयो । भारत र अमेरिकाका लागि नेपालको राजदूत रहेर ती देशसँग नेपालको सम्बन्धलाई थप दरिलो बनाउन योगदान दिनु भयो । मुलुक द्वन्दमा फसेको समयमा परराष्ट्र मन्त्रीको रुपमा उहाँले ‍नेपाल अन्तर्राष्ट्रिय सम्बन्धमा कूटनीतिक भूमिका निर्वाह गर्नु भयो ।

यस सम्मान छनौटका लागि नेपाल सरकारका पूर्व सचिव एवं पूर्व अर्थ मन्त्री शंकरप्रसाद कोईरालाको संयोजकत्वमा एक सम्मान छनौट समिति गठन गरिएको थियो ।

नेपाल जनप्रशासन संघले शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा अतुलनिय योगदान दिनुहुने महानुभावलाई सम्मान गर्न कुशल प्रशासक एवं व्यवस्थापक स्व. हेमवहादुर मल्लको स्मृतिमा यो सम्मानको स्थापना गरिएको हो । यस सम्मानमा सम्मानपत्रसहित नगद २ (दुई) लाख राशीको छ ।

अघिल्ला वर्षहरूमा हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चादनी जोशी, डा. भगवान कोईराला, डा. विमल कोईराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्ष बहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानीत भईसक्नु भएको छ । डा. भेषबहादर थापा यो सम्मानबाट सम्मानित हुनुहुने २०औ व्यक्ति हुनुहुन्छ ।

स्वर्गीय हेमबहादुर मल्ललले साल्ट ट्रेडिग कर्पोरेशनमा संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज, प्रमुख सल्लाहकार र प्रेसिडेन्ट पदमा रही सेवा गर्नुभयो ।

सो सम्मान अर्पण समारोहको अध्यक्षता नेपाल जन-प्रशास सङ्घका अध्यक्ष मधुरमण आचार्यले गर्नु भएको थियो । समारोहमा साल्ट ट्रेडिङ्ग कर्पोरेसनका अघ्यक्ष प्रदीपलाल श्रेष्ठले पनि मन्तव्य दिनु भएको थियो ।

प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापक वीचको पारस्परिक सम्वन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरोकारसंग सम्वन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्याङ्कनमा पृष्ठपोषण गर्ने उद्देश्यले वि.सं. २०४७ सालमा नेपाल जन–प्रशासन संघको स्थापना भएको हो । गैरनाफामुखी पेशागत संघको रुपमा स्थापीत यस संघले विगतमा जनप्रशासनका विभिन्न विधाहरूमा छलफल, प्रशिक्षण, अनुसन्धान, प्रकाशन र सम्मान तथा पुरस्कार सञ्चान गर्दै  आएको छ । २०८१।०४।२३ गते  

Scroll to Top
Scroll to Top