प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को पर्यवेक्षणमा नेपाल जन-प्रशासन संघ (PAAN)

मिति २०८२/११/२०
प्रेस विज्ञप्ति
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को पर्यवेक्षणमा नेपाल जन-प्रशासन संघ
नेपाल जनप्रशासन संघ (Public Administration Association of Nepal – PAAN) ले लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन प्रक्रियालाई सहयोग पुर्‍याउने उद्देश्यले निर्वाचन पर्यवेक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । विगत वर्षझैँ यस वर्ष २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा निर्वाचन प्रक्रियाको स्वतन्त्रता, निष्पक्षता, पारदर्शिता तथा विश्वसनीयताको मूल्याङ्कन गर्न देशका विभिन्न जिल्लामा निर्वाचन पर्यवेक्षण गर्ने भएको छ । संघले ७ वटा प्रदेशका २० वटा जिल्लामा निर्वाचनसम्बन्धी गतिविधिहरूको अवलोकन तथा पर्यवेक्षण गर्न ४७ जना पर्यवेक्षकहरूलाई खटाएको छ ।
पर्यवेक्षकहरूले निर्वाचन पूर्व तयारी, निर्वाचन आचारसंहिता पालनाको अवस्था, मतदान केन्द्रको व्यवस्थापन, मतदाताको सहभागिता, मतदान प्रक्रिया, सुरक्षा व्यवस्था तथा मतगणना प्रक्रियासम्मका गतिविधिहरू लगायतका निर्वाचन पर्यवेक्षण निर्देशिकाको परिधिमा रही वस्तुनिष्ठ रूपमा अवलोकन गर्नेछन् । पर्यवेक्षणबाट प्राप्त तथ्य तथा जानकारीका आधारमा प्रारम्भिक तथा अन्तिम प्रतिवेदन तयार गरी निर्वाचन आयोग समक्ष प्रस्तुत गरिनेछ । यस कार्यमा सघाउने संघका पर्यवेक्षक, आम नागरिक, राजनैतिक दल, निर्वाचन आयोग, निर्वाचन प्रक्रियामा आबद्द कर्मचारी, सुरक्षाकर्मी लगायत सम्बद्द सरोकारपक्षसंग सहयोग र समन्वयको लागि हार्दिक अपिल गर्दछ l
प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापकबीचको पारस्परिक पेशागत सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्याङ्कनमा व्यवसायिक पृष्ठपोषण गर्ने उद्देश्यले २०४७ सालमा यस संघको स्थापना भएको हो l
मधुरमण आचार्य
अध्यक्ष
नेपाल जनप्रशासन संघ (PAAN)
Scroll to Top