ललितपुर, २७ भदौ २०८३ (१२ सेप्टेम्बर २०२६) : नेपाल जन–प्रशासन संघ (PAAN) द्वारा “हिमाली क्षेत्रमा जलवायुजन्य विपद् जोखिम न्यूनीकरण र उत्थानशीलता” विषयमा आयोजित PAAN Policy Dialogue, कार्यपत्र प्रस्तुति तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
ललितपुरस्थित संस्कार फाइन डाइन एण्ड इभेन्ट्समा आयोजित कार्यक्रममा जलवायु परिवर्तनका कारण हिमाली तथा पहाडी क्षेत्रमा बढ्दै गएको विपद् जोखिम, हालैको भोटेकोशी–त्रिशूली विपद्बाट प्राप्त अनुभव तथा सिकाइ, विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा पूर्वसूचना प्रणाली, स्थानीय प्रतिकार्य क्षमता, सुरक्षित अस्थायी आवास, विपद्पछिको पुनर्स्थापना तथा उत्थानशीलता निर्माणलगायतका विषयमा विज्ञ, प्रशासक तथा सरोकारवालाहरूबीच गहन छलफल भएको थियो।
कार्यक्रममा प्रा. डा. जीवराज पोखरेलले हालै भोटेकोशी नदीमा गएको बाढीसम्बन्धी प्रमुख कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणका सहसचिव श्री प्रदीप कोइरालाले विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी प्रस्तुति दिनुभएको थियो । डा. मीनबहादुर पौड्याल क्षेत्रीले “The Bhotekoshi Flood: Socioeconomic Impacts and the Road to Recovery” विषयमा प्रस्तुति गर्नुभएको थियो भने डिमान्सका अध्यक्ष श्री सूर्यबहादुर थापाले विपद्को स्थानीयकरणका विषयमा धारणा राख्नुभएको थियो । त्यस्तै डिपिनेट नेपालका पूर्वअध्यक्ष डा. राजु थापाले “Rasuwa Bhotekoshi Flood, Reflection From Field” विषयमा स्थलगत अनुभव प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा श्री कृष्णहरि बास्कोटाले विपद्का समयमा बालबालिका, महिला तथा ज्येष्ठ नागरिकलगायत संवेदनशील समूहमा पर्ने प्रभावका विषयमा तथा श्री दुर्गाप्रसाद भट्टराईले विपद् र जलवायु कूटनीतिका विषयमा प्रस्तुति गर्नुभएको थियो । मञ्जु जैसी ढकालले विपद्का समयमा भएका गतिबिधि र गर्न सकिने बिषयमा आफ्नो धारणा राख्नु भएको थियो l
त्यसपछि भएको प्रश्नोत्तर तथा खुला छलफलमा कृष्ण ज्ञवाली, रामबाबु ढकाल, हीरा श्रेष्ठ, राजेन्द्र अधिकारी, त्रिभुवन श्रेष्ठ, डा. दिलीप राज पौडेल, डा. विनोद भट्टलगायतले विपद् जोखिम न्यूनीकरण, स्थानीय तहको भूमिका, पूर्वतयारी, प्रतिकार्य क्षमता, पुनर्स्थापना तथा समुदायको उत्थानशीलतासँग सम्बन्धित आफ्ना धारणा, अनुभव तथा सुझाव प्रस्तुत गर्नुभएको थियो । यसबाट नीति संवाद थप सहभागितामूलक र बहुआयामिक बनेको थियो।
सरकारलाई १० बुँदे नीतिगत सुझाव
कार्यक्रममा भएको छलफलबाट प्राप्त निष्कर्षलाई नीतिगत तहसम्म पुर्याउने उद्देश्यले नेपाल सरकारका लागि १० वटा कार्यान्वयनयोग्य नीतिगत सुझाव अघि सारिएको छ।
सुझावहरूमा प्रत्येक स्थानीय तहमा अनिवार्य विपद् जोखिम कार्ययोजना लागू गर्ने, जोखिमयुक्त वडामा प्रशिक्षित ‘पहिलो प्रतिकार्य टोली’ गठन गरी नियमित अभ्यास गराउने, न्यूनतम आपत्कालीन सामग्रीको पूर्वभण्डारण गर्ने, जोखिमयुक्त नदी तथा पहिरो क्षेत्रमा समुदायसँग प्रत्यक्ष जोडिएको पूर्वसूचना प्रणाली विकास गर्ने तथा ‘पूर्वानुमानमा आधारित पूर्वकार्य’ प्रणाली लागू गर्ने विषय समेटिएका छन् ।
त्यसैगरी, विपद्पछि तत्काल प्रयोग गर्न सकिने सुरक्षित अस्थायी आवासका नमुना तथा सामग्रीको पूर्वतयारी, पहाडी क्षेत्रमा पानी संकलन पोखरी तथा भूक्षय नियन्त्रण, सुरक्षित तथा आगलागी प्रतिरोधी भवन प्रवर्द्धन, विपद् क्षति–राहत–स्रोत परिचालनको एकीकृत डिजिटल अभिलेख प्रणाली तथा प्रत्येक ठूलो विपद्पछि ९० दिनभित्र ‘After Action Review’ गरी त्यसबाट प्राप्त सिकाइलाई आगामी नीति, बजेट र कार्यक्रममा समावेश गर्ने व्यवस्था गर्न सुझाव दिइएको छ ।
“राहत र उद्धार”बाट “जोखिम न्यूनीकरण र पूर्वकार्य”तर्फ
PAAN ले विपद् व्यवस्थापनलाई केवल विपद् आएपछि उद्धार र राहतमा केन्द्रित गर्ने परम्परागत दृष्टिकोणबाट माथि उठाई जोखिम पहिचान, पूर्वानुमान, पूर्वतयारी, पूर्वकार्य, स्थानीय नेतृत्व, एकीकृत प्रतिकार्य, पुनर्स्थापना र संस्थागत सिकाइमा आधारित पूर्ण चक्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ।
छलफलमा विपद् जोखिम न्यूनीकरणलाई विकास प्रक्रियाको अभिन्न अंगका रूपमा स्थापित गर्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहबीच जिम्मेवारी तथा समन्वयलाई स्पष्ट र प्रभावकारी बनाउनुपर्ने तथा स्थानीय तहलाई जिम्मेवारी हस्तान्तरणसँगै आवश्यक स्रोत, क्षमता र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने विषयमा समेत जोड दिइएको थियो ।
विपद्को पहिलो घडीमा बाह्य सहयोग पुग्न समय लाग्न सक्ने भएकाले जोखिमयुक्त वडा तथा बस्तीमा प्रशिक्षित स्थानीय स्वयंसेवक, प्रभावकारी स्थानीय आपत्कालीन सञ्चालन केन्द्र तथा वैकल्पिक सञ्चार प्रणाली विकास गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ। साथै नदी जलस्तर, वर्षा, GIS, रिमोट सेन्सिङ, उपग्रह सूचना तथा कृत्रिम बुद्धिमत्तालगायतका प्रविधिलाई समुदायमा आधारित पूर्वसूचना प्रणालीसँग जोड्नुपर्नेमा जोड दिइएको छ।
कार्यक्रमको अध्यक्षता नेपाल जन–प्रशासन संघका अध्यक्ष श्री मधुरमण आचार्यले गर्नुभएको थियो। महासचिव डा. दिलीप राज पौडेलले स्वागत मन्तव्यसहित कार्यक्रमको विषयवस्तुमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूबीच भएको विचार–विमर्श र सुझावलाई सम्बन्धित निकायसम्म पुर्याउँदै प्रमाणमा आधारित नीति निर्माण, प्रभावकारी सार्वजनिक प्रशासन तथा विपद् उत्थानशील समाज निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
नेपाल जन–प्रशासन संघले ज्ञान, अनुभव, अनुसन्धान र नीतिगत विमर्शलाई जोड्दै सार्वजनिक नीति तथा प्रशासनका समसामयिक चुनौतीमा रचनात्मक योगदान पुर्याउने आफ्नो भूमिकालाई निरन्तरता दिने जनाएको छ।
कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्याउनुहुने सम्पूर्ण विज्ञ, कार्यपत्र प्रस्तोता, छलफलमा सहभागी विज्ञ तथा सदस्यहरू, PAAN का पदाधिकारी तथा सदस्यहरू र सहयोगी सबैप्रति नेपाल जन–प्रशासन संघ हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।
नेपाल जन–प्रशासन संघ (PAAN)







