विपद्को यस कठिन घडीमा सहयोगका लागि हार्दिक अपिल

नेपालमा हालै आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित भएका छन्। यसबाट प्रभावित नागरिकहरूको जीवनयापन, आवास तथा सार्वजनिक पूर्वाधारमा समेत गम्भीर असर परेको छ। विपद्को यस दुःखद् घडीमा खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यहरू निरन्तर भइरहेका छन्।
नेपाल जन–प्रशासन संघ (PAAN) यस प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ। साथै, घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभ, सुरक्षा र सहज पुनर्स्थापनाको कामना गर्दछ।
यस कठिन परिस्थितिमा नेपाल सरकारद्वारा उद्धार तथा राहतका लागि सहयोगको आह्वान गरिएको सन्दर्भमा, PAAN सम्पूर्ण सदस्यहरू, सार्वजनिक तथा निजी क्षेत्रका संस्था, व्यवसायिक समुदाय, विकास साझेदार, गैरसरकारी संस्था, नागरिक समाज, पेशागत समुदाय तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा आफ्नो सामर्थ्यअनुसार सहयोग गर्न हार्दिक अपिल गर्दछ।
सहयोग गर्दा नेपाल सरकारद्वारा तोकिएका आधिकारिक तथा पारदर्शी माध्यमहरू, विशेषतः प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष / प्रधानमन्त्री राहत कोष, मार्फत योगदान गर्न PAAN हार्दिक अनुरोध गर्दछ। यसको लागि “प्रधानमन्त्री दैवी उद्दार कोष” मा जम्मा गरिदिनु हुन् QR Code वा Bank मा जम्मा गरिदिनु हुन् अनुरोध छ l https://opmcm.gov.np/content/586/heartfelt-appeal/
विपद्को समयमा हाम्रो सानो प्रयासले पनि प्रभावित परिवारका लागि ठूलो आशा र भरोसा सिर्जना गर्न सक्छ। त्यसैले तत्कालीन राहतका साथै प्रभावित समुदायको दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणमा समेत योगदान पुर्याउने गरी जिम्मेवार, समन्वित र पारदर्शी सहयोग आवश्यक छ।
PAAN सबै सहयोगी मनहरूलाई नेपाल सरकारद्वारा तोकिएका आधिकारिक तथा पारदर्शी माध्यममार्फत योगदान गर्न अनुरोध गर्दछ। सहयोग रकम, सामग्री वा अन्य कुनै पनि प्रकारको सहयोगलाई वास्तविक आवश्यकता भएका प्रभावित नागरिकसम्म प्रभावकारी रूपमा पुर्याउन सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गर्नु हाम्रो साझा जिम्मेवारी हो।
आजको आवश्यकता केवल राहत वितरण गर्नु मात्र होइन; विपद्मा परेका नागरिकलाई भरोसा दिलाउनु, उनीहरूको जीवन पुनः सामान्य अवस्थामा फर्काउन सहयोग गर्नु र राष्ट्रिय एकताको भावना अझ सुदृढ बनाउनु पनि हो।
आउनुहोस्, यस कठिन घडीमा सबै मिलेर प्रभावित नागरिकहरूको साथमा उभिऔँ।
“विपदमा एकता, राहतमा सहभागिता र पुनर्स्थापनामा सहकार्य-हाम्रो साझा जिम्मेवारी।”
नेपाल जन–प्रशासन संघ (PAAN)
Pulchowk, Harihar Bhawan, Lalitpur, Nepal
Scroll to Top