सङ्घीय निजामती सेवा विधेयक मस्यौदामाथि छलफल सम्पन्न

नेपाल जन–प्रशासन संघ (PAAN) द्वारा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि एक महत्वपूर्ण नीति संवाद कार्यक्रम आयोजना गरेको थियो । मिति २०८३ बैशाख १३ गते सम्पन्न भएको उक्त कार्यक्रम संघका अध्यक्ष मधुरमण आचार्यको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रममा पूर्व मुख्य सचिव, पूर्व सचिवहरू, नीति–निर्माता, प्रशासनविद् तथा सम्बन्धित क्षेत्रका विज्ञहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
छलफलमा सहभागी हुने प्रमुख व्यक्तित्वहरूमा लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी, लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनाली, पूर्व मुख्य सचिव लिलादेवी गडतौला, शंकर बैरागी, पूर्व सचिवहरू प्रताप कुमार पाठक, बालकृष्ण प्रसाईं, गोपीनाथ मेनाली, दुर्गा प्रसाद भट्टराई, कृष्णहरि बस्कोटा, साथै प्रशासनविद् माधव प्रसाद घिमिरे, डा. हिरामणि घिमिरे, शम्भु कोइराला, राजेन्द्र अधिकारी. डा. दिलिपराज पौडेल, सुवाष शर्मा लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा विधेयकको मस्यौदाका विभिन्न पक्षहरू—संरचनागत व्यवस्था, सेवा सर्त, पदस्थापन, कार्यसम्पादन मूल्यांकन, संघ–प्रदेश–स्थानीय तहबीचको समन्वय, तथा सेवा सुरक्षाका विषयमा गहन छलफल तथा विचार–विमर्श भएको थियो। सहभागीहरूले निजामती सेवाको पेशागत, स्थायित्व, उत्तरदायित्व तथा कार्यक्षमता अभिवृद्धि गर्ने दिशामा विभिन्न महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए।
विशेषगरी, संघीय प्रणाली अनुरूप निजामती सेवाको स्पष्ट संरचना, पारदर्शी र योग्यता–आधारित पदोन्नति प्रणाली, सेवा सुरक्षाको सुनिश्चितता, तथा अन्तर–तह समन्वयलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो। साथै, कार्यसम्पादनमा आधारित मूल्यांकन प्रणालीलाई सुदृढ बनाउनुपर्ने, र प्रशासनिक नेतृत्वको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको थियो।
उक्त कार्यक्रमबाट प्राप्त सुझावहरूलाई संकलन तथा व्यवस्थित गरी नेपाल जन–प्रशासन संघले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेको छ।
नेपाल जन–प्रशासन संघले यस्ता नीति संवाद कार्यक्रमहरू मार्फत सार्वजनिक प्रशासन सुधार र सुशासन प्रवर्द्धनमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

१paan policy dilauge 2083 01 13 11

Scroll to Top